Thu, 08 Dec, 2022

सहकारीका सदस्यले बुझ्नै पर्ने कुरा !

२०७९ साउन २९ मा प्रकाशितकाजी श्रेष्ठ

सहकारी संस्थाका वास्तविक मालिक सदस्यहरु हुन् । संस्थाको सञ्चालक समिति सदस्यहरुको प्रतिनिधि पात्र हो । जसरी राज्य सञ्चालन प्रक्रियामा सार्वभौमसत्ता सम्पन्न जनता हुन्छन् त्यसरी नै प्रजातान्त्रिक प्रणालीको प्रारम्भिक पाठशाला मानिने सहकारीहरुमा सदस्यहरु नै सार्वभौमसत्ता सम्पन्न हुन्छन् । सदस्यहरु मालिक भएपनि दैनन्दिन रुपमा सबै सदस्यहरुको प्रतिनिधित्व निर्वाचित समितिले गर्दछ । यो सहकारी सञ्चालनको सामान्य विधि हो ।

जसरी जनप्रतिनिधिको चयन प्रक्रियामा जनताले ‘हाम्रो होइन राम्रो’ लाई मताधिकार दिएर विजयी नबनाउँदा राज्य कमजोर हुन्छ, त्यसरी नै सहकारीमा सदस्यहरुले मताधिकार प्रयोग गर्दा विवेक पुर्याएनन् भने संस्था धराशायी हुने निश्चित प्रायः छ । त्यसैले सहकारी राम्रो हुन सदस्यहरु विवेकी, शिक्षित र उत्तरदायी हुनु अनिवार्य शर्त हो । डर, धम्की, प्रलोभन जस्ता कुरामा परेर सदस्यले विवेकको तिलाञ्जली दिदाँ संस्थाले अपुरणीय क्षति बेहोनुपर्छ । उदाहरण हाम्रा सामु छर्लङ्ग छन् ।

सहकारीको एउटा सदस्यको प्राथमिक दायित्व के हो त ? पहिलो कुरा सहकारी बुझ्नुपर्यो । सहकारी के हो ? सहकारी कसका लागि हो ? सहकारीमा सदस्यको जिम्मेवारी के हो ? सदस्य र ग्राहकबीच के भिन्नता छ ? सहकारीका सिद्धान्त, मुल्य, मान्यता अरु व्यावसायिक प्रारुप भन्दा के कति पृथक छन् ? यस्ता आधारभूत विषयमा प्रत्येक सदस्य जानकार हुनुपदर्छ । एउटा उदाहरण हेरौं । बजारमा एक पाउ मासु किन्दा भाउदेखि सबैकुरा विचार गरेर, दशचोटी पसलेसँग सोधपुछ गरी मात्र निर्णय लिने हामी आफ्नो जीवनसँग गाँसिएको वित्तीय भविष्यको निर्णय लिदा संस्था के हो ? सञ्चालकहरु कस्ता छन् ? वित्तीय अवस्था कस्तो छ ? प्रतिफलका आधारहरु के हुन् भन्ने कुरा विचार गर्नुपर्दैन ? सबै दोष सञ्चालक समितिलाई मात्र थुपार्न मिल्छ र ? के हामी सदस्यहरु पनि दोषको भागेदार छैनौ र ? एक पटक गहिरिएर चिन्तन गरौं त ?

माथिका विषयमा फरक ढंगले चर्चा गरौं । यी सबै विषयहरु प्रत्येक सदस्यलाई बुझाउने दायित्वबाट संस्था, संघ र नियामक निकाय पन्छिन मिल्दैन । संख्या, कारोबार, कार्यक्षेत्र, प्रभाव, योगदानको हिसाबकिताब गर्दा दम्भी बन्न खोज्ने अभियानकर्मी र नियामक निकायले सुशासनबाट स्खलित भएकाहरुको जिम्मेवारी लिनुपर्दैन ? सदस्यहरु निर्माण प्रक्रियामै गम्भीर त्रुटीहरु पो देखिएका छन् कि ? संस्थाले ब्याजको प्रलोभनलाई नै सदस्य विस्तारको प्रमुख र नियोजित हत्कण्डा बनाएको पो हो कि ? यस्ता प्रश्नहरु सहकारीमा पछिल्लो समय देखिएका समस्याहरुले सतहमा ल्याएको छ ? सँगै नातावाद र कृपावाद हाम्रो जडवत् समस्या बन्दै गएको छ, चाहे सहकारीमा होस् वा राजनीतिमा ।

मननीय कुरा के छ भने सहकारीमा हरेक सदस्यहरुको समान अधिकार हुन्छ । सहकारीका हरेक गतिविधिमा सदस्यहरुको प्रत्यक्ष संलग्नता हुन्छ । ब्याजदर हेरफेर, नीति तथा कार्यक्रमहरु लगायतका गतिविधिमा सहकारीका सदस्यहरुको प्रत्यक्ष संलग्नता हुनै पर्छ । यी यस्ता विषयमा प्रत्येक सदस्यहरुलाई संलग्न गराइएन भने ती कारोबारी सदस्य हुन् । सहकारीमा कारोबारी सदस्य भन्ने हुँदैन । सहकारी संस्थामा प्रत्येक सदस्यको सामाजिक, आर्थिक, साँस्कृतिक, र व्यावसायिक जिम्मेवारी रहन्छ यो बुझ्नु जरुरी हुन्छ । सहकारी संस्थामा सदस्य भैसकेपछि बचत गर्ने र ऋण लिने मात्र नभइ आफुले चयन गरेर प्रतिनिधि र कर्मचारीहरुले सुरक्षित ढंगले काम गरिरहेका छन् कि छैनन ? मुल्यांकनको अभिभारा सदस्यको पनि उत्तिकै हो ।

सहकारीका हरेक सदस्यको दायित्व मतको अधिकार प्रयोग गर्ने मात्र होइन आवाजको अधिकार उपयोग गर्ने पनि हो । खबरदारी गर्ने पनि हो । सहीलाई सही र गलतलाई गलत भन्ने पनि हो । सदस्यले बेलैमा बोल्न सकेनन् भने पछि पछि पछुताउनुको विकल्प छैन । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा विलौना गर्नु भनेको मरिसकेपछि ओखती गर्नु सरह हो । सदस्यले आफ्नो पसिनाको संरक्षण भए नभएको निगरानी गर्नुपर्छ । संस्थामा गएर हरहिसाब जाँच गर्नुपर्छ । सञ्चालक समिति तथा जिम्मेवार कर्मचारीसँग सोधखोज गर्नुपर्छ । यी विषय सहकारीको आन्तरिक नियन्त्रण र स्वायत्ततासँग जोडिएको छ ।

अरुलाई दोष थोपारेर स्वायत्तताको राग अलाप्न कदापि मिल्दैन । यो सञ्चालक समितिदेखि सदस्यहरुमा पनि लागू हुन्छ । सहकारी संस्थाले हरेक वर्ष गर्ने साधारण सभामा तपाईंको अनिवार्य उपस्थिति वाञ्छनीय छ । साधारण सभा पारवहन भत्ता लिन, मासुपुलाउ खान र ताली बजाउन मात्र होइन । संस्थाले वर्षभरि के काम गर्यो, कति कमायो, कति गुमायो र नयाँ आर्थिक वर्षमा के कस्ता कार्यक्रम र तिनको प्रस्तावित बजेटमा घनीभूत छलफल गर्ने सदस्यहरुको सबैभन्दा शक्तिशाली मञ्च हो । यो सबै सदस्यले बुझ्नुपर्ने विषय हो ।

साधारण सभामा सहभागी भई संस्थाले वर्ष भरि गरेका आर्थिक, व्यवसायिक, सामाजिक, सांस्कृतिक क्रियाकलापहरूको बारेमा जानकारी लिई चित्त नबुझेका, गलत ढंगले सम्पादन गरिएका विषयहरूमा आवाज उठाउने गर्ने, गल्ती गर्ने उपर कारबाहीको माग गर्ने, असल काम गर्नेको प्रशंसा गर्ने, भावी नीति, योजना तर्जुमा र कार्यक्रम निर्धाणमा सुझाब दिने कार्यहरू तपाईं सदस्यकै जिम्मेवारी भित्र पर्दछ । तपाईंले चुनेर पठाएको नेतृत्वले कतै ऐन, कानुन, निर्देशन, निर्देशिका विपरित काम पो गरिरहेका छन् की त्यस तर्फ नजर लगाउने काम सदस्यकै हो ।

सञ्चालक र कर्मचारीहरुको ध्यान प्रमुख अथिति, आसन ग्रहणको लर्को, मायोको चिनो, कदर तथा सम्मान पत्र र लम्बेतान भाषणमा मात्र होइन के कति सदस्य उपस्थिति भए ? उनीहरुले के कस्ता प्रश्नहरु उठाए ? के कस्ता विषय उठाएनन ? भन्ने चुरो कुरा हो । हाम्रा साधारण सभाहरु कर्मकाण्डी हुँदा सदस्यहरु मारमा परेका छन् । किनकि सबैभन्दा महत्वपूर्ण कार्यक्रममा सदस्यहरु सहभागिता न्यून र भूमिकाबिहीन हुँदा सीमित सञ्चालकहरुले संस्थामाथि रजगज गर्ने गरेका छन् । संस्थालाई धरापमा पार्ने गरेका छन् ।

यदि संस्थाको कारोबारमा अनियमितताको आशंका भएमा, नीति नियम संगत काम नभएको छनक देखिएमा लेखा समितिमा, साधारण सभामा, नियामक निकायमा, माथिल्लो सञ्जालमा लिखित जानकारी गराउनु पर्दछ । यी र यस्ता जिम्मेवारीबाट सदस्य कहिल्यै टाढा बस्नु हुँदैन । यदी यस्ता जिम्मेवारीबाट सदस्य टाढिएको छ भने उ केवल कारोबारी (ग्राहक) हो । वास्तविक सदस्य होइन । वास्तविक सदस्य परिवारको हिस्सा हो । परिवारको सुखमा जति साथ दिन्छ दुःखमा झन् बढी साथ दिन्छ ।

पछिल्ला परिघटनाहरुले सहकारीका उदाहरणीय कामहरु ओझेलमा पारेको छ । पत्रकारिताको धर्म हो, कमजोरी र गल्तीहरु उत्खनन् गर्ने । सँगै यो पनि बुझ्नु जरुरी छ कि कुकृत्यका समाचारहरु शीघ्र भाइरल हुन्छन् । पाठकहरुमा पनि यस्ता कुराहरु बढी जान्ने बुझ्ने र चर्चा गर्ने बानी हुन्छ । त्यसैले पनि यस्ता समाचारको प्रभाव चाँडो र दीर्घजीवनी हुन्छ । तर यसको अर्थ खबरदारी गर्ने भूमिकाबाट सञ्चारमाध्यम च्यूत हुनुहुँदैन । यो आलेखको निचोड पनि सहकारीका द्धेषहरु केलाएर भाइरल बन्ने नभइ सदस्यहरुलाई उनीहरुको जिम्मेवारीबारे अलि बढी सचेत र सर्तक बनाउने नै हो । जिम्मेवार सदस्य जिम्मेवार संस्थाको मेरुदण्ड हो । सहकारीका हरेक सदस्यले बेलैमा मनन गर्न सके थप दुर्घटनाका समाचारहरु भाइरल हुँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
67 %
Laugh
0 %
Sad
33 %
Angry
0 %

प्रतिक्रिया