Sun, 02 Oct, 2022

स्टार सहकारी डुब्ने वा सञ्चालकहरु भाग्ने भन्ने कुरा हाम्रो डिक्सनरीमै छैन : दिनेश राई

२०७९ भदौ ३० मा प्रकाशितविचार पाना

काठमाडौं : ललितपुरको कुमारीपाटी स्थित मुख्य कार्यालय रहेको स्टार बचत तथा ऋण सहकारी संस्थामा उत्पन्न अल्पकालीन तरलता अभाव बिस्तारै ‘म्यानेज’ हुँदै गएको दाबी गरेको छ । संस्थाले दिर्घकालीन वित्तीय संकट नभएको स्पष्ट पार्दै सदस्यहरुलाई अनावश्यक भ्रममा नपर्न आग्रह समेत गरेको छ ।

अन्य सहकारी संस्थामा उब्जिएको समस्याका कारण अनपेक्षित रुपमा धेरै सदस्यहरु एकैपटक आफुलाई आवश्यक नभएपनि बचत फिर्ता गर्न लागिपरेका कारण तरलता व्यवस्थापनमा कठिनाइ भएपनि त्यो अवस्था सुधारोन्मुख रहेको संस्थाले स्पष्ट पारेको छ । संस्थाका अध्यक्ष दिनेश राई सहकारी खबरसँग कुरा गर्दै केही सञ्चारमाध्यममा आएजस्तो स्टार सहकारी सदस्यको बचत फर्ता गर्न असमर्थ भएको भन्ने समाचारको पूर्णतया खण्डन गरे । सबै सदस्यहरुलाई विश्वासमा लिएर काम गरेका कारण संस्था डुब्ने वा भाग्ने भन्ने कुरा कल्पना पनि गर्न नसकिने उनले बताए । उनले भने ‘संस्था डुब्ने वा सञ्चालकहरु भाग्ने भन्ने कुरा हाम्रो डिक्सनरीमै छैन ।’

गैर सदस्य र कार्यक्षेत्र बाहिर कारोबार नगरेको र सीमिति सञ्चालकहरुले बचत रकम परिचालन नगरेको भन्दै संस्थागत सुशासनमा कुनै समस्या नरहेको अध्यक्ष राईले बताए । उनले अन्य सहकारीको समस्याका कारण अल्पकालीन तरलता चाप परेपनि बिस्तारै ‘फन्ड म्यानेज’ हुँदै गएको दाबी गरे ।

‘हामी सहकारीको मर्म अनुसार काम गरेका छौं’, अध्यक्ष राईले भने, ‘सदस्य बनाउने र उनीहरुलाई के कसरी उच्चस्तरीय (हाइटेक) सुविधा उपलब्ध गराउन सकिन्छ भनेर लागिपर्यौं, ब्याजभन्दा पनि सेवामा हाम्रो जोड रहँदै आएको छ ।’ संस्थासँग करिब १७ प्रतिशत तरलता भएपनि १५ दिनको अवधिमै १२ प्रतिशत तरलता रकम सकिएको जानकारी उनले गराए । खासगरी केही सहकारीमा समस्या आएपछि असुरक्षित महसूस गरेका सदस्यहरुले अन्य सहकारीमा भएको बचत आवश्यकता नभएपनि सबै निकाल्न थाले जसको असर स्टारलाई पनि परेको उनको स्पष्टोक्ति थियो ।

‘केही सहकारीको विषयमा समाचार प्रकाशित भएपछि आफ्नो बचत रकमलाई लिएर सहकारीका सदस्यहरुले असुरक्षित महसूस गरे’, अध्यक्ष राईले भने ‘उनीहरु अरु जे भएपनि केही महिनाका लागि सहकारीमा भएको आफ्नो रकम निकाल्ने भनेर लागे जसका कारण हामी लगायत अन्य सहकारीहरुलाई समस्या भएको हो । एकैचोटी अनपेक्षित रुपमा धेरै सदस्यहरु बचत रकम लिन आएपछि जसलाई पनि समस्या भइहाल्छनि ।’

‘संस्थाको कुमारीपाटी, भक्तपुर, सामाखुसी, बौद्ध सेवा केन्द्रमा कुनै असर नपरेपनि न्यूरोड र कालिमाटीमा बढी प्रभाव देखापरेको थियो । १५ दिनको तथ्याङकले बचत निक्षेप निक्कै कम तर फिर्ता (विथड्र) अत्यधिक भयो । हामीसँगबाट फिर्ता गएको रकम घर वा अन्य कुनै वित्तीय संस्थामा जम्मा भयो । त्यसका कारण व्यवस्थापनमा कठिनाइ मात्र भएको हो’, अध्यक्ष राईले भने ।

‘कालिमाटी, न्यूरोड सेवा केन्द्रका लगभग सबै सदस्यहरुले सुरक्षालाई प्राथमिकता दिदैं बचत रकम फिर्ता लिए’, उनले भने, ‘आवश्यकता नै नभएका सदस्यहरुले पनि केही सहकारी संस्था संकटमा परेका समाचारहरु सुनेकै भरमा सत्यतथ्य नबुझी रकम झिके । यसले गर्दा हामीलाई पनि तरलता सन्तुलन कायम गर्न कठिन भयो । हामीले सोच्यौं हाम्रा सदस्यहरुले अन्य सहकारीमा आएको समस्याका कारण हाम्रो पनि अवस्था के छ त भनेर परिक्षण गरे । त्यस्तो बेला हामीले सदस्यसँग सोधखोज गर्यौ, रकम ननिकाल्न आग्रह गर्यौ भने फेरि हाम्रोमा पनि केही समस्या पो छ कि भन्ने गलत सन्देश प्रवाह हुने भएकाले हामीले जति नै रकम फिर्ता माग गरेपनि उपलब्ध गरायौं ।’ सदस्यलाई उपलब्ध गराएको रकम रोटेशनमा फिर्ता नआएका कारण केही समस्या भएको उनले स्विकार गरे ।

अध्यक्ष राईका अनुसार स्टार सहकारी बचतमा थोरै ब्याजदिने संस्थामा पर्छ । उनले भने, ‘हामी सन्तुलित अथवा भनौं नियन्त्रित ब्याज उपलब्ध गराउने संस्थामा पर्छौ भनेर सदस्यहरुले भन्दै आउनुभएको छ । छिमेकका संस्थाहरुले धेरै ब्याजको प्रलोभन देखाउँदा पनि स्टारसँगै कारोबार गर्छौ भन्ने थुप्रै सदस्यहरु हुनुहुन्छ ।’

सहकारीहरुमाझँ स्टार सहकारीले छुट्टै पहिचान पनि बनाएको दाबी समेत उनले गरे । उनले अगाडि भने, ‘ब्याजले मात्र सेवा राम्रो हुने होइन । अध्ययन अनुसन्धान गर्ने सक्षम मानव संशाधनको बलमा हामीले हाम्रो सेवालाई सदस्यमुखी बनाउँदै आएका छौं । कन्फिडेन्स र गुडविल कायम राखेका छौं ।’ उनले हामीले मिहेनतका साथ काम सुशासनमा बसेर काम गरेपनि अनपेक्षित रुपमा केही कठिनाइ आएको स्वीकार गरे ।

‘कतिपय सदस्यले स्टार सहकारीलाई पनि तरलता चाप पर्यो र ?’, अध्यक्ष राईले भने, ‘स्टारलाई पनि तरलता अभाव भयो भने त अरु सहकारीहरुको त के होला ? भन्ने किसिमका प्रश्न गर्नुहुन्छ ।’ आफ्नो बचत भएको अन्य सहकारीमा गएर रकम फिर्ता गरेको समेत हामीलेजानकारी पाएका छौं । स्टारको कारणले हाम्रोमा बचत फिर्ताको चाप बढेको भनेको सुनेका छौं ।’

तरलता चाप परेकै कारण सदस्यहरुकै सुझाव अनुसार बचत फिर्ता रकमको सीमा कायम गरिएको समेत उनले बताए । ३ अर्ब ६ करोड बचत निक्षेप रकम एक महिनामै घटेर २ अर्ब ६० करोडमा झरेको उनले बताए । आवधिक बचतको समय पुगेकाहरुलाई ‘फलोअप’ गरिएको र तरलताको खाँचो भएकाले रकम फिर्ता नलान आग्रह पनि गरिएको जसलाई धेरै सदस्यहरुले सकारात्मक रुपमा लिएर सहयोग गरेको अध्यक्षले जानकारी गराए ।

हाल संस्थासँग सेयर पुँजी ३७ करोड रुपैयाँ, २ अर्ब ६८ करोड ऋण लगानी, ७० करोड रुपैयाँ बराबरको सम्पत्ती रहेको भन्दै अध्यक्ष राईले भाखा नाघेको ऋणका लागि ताकेता गर्ने, संस्थासँग भएको जग्गाजमीन लगायतका भौतिक सम्पत्तिहरु बेचबिखन गरी ‘फन्ड म्यानेजमेन्ट’ गर्ने काममा जुटेको बताए । उनले सदस्यहरुलाई विगतमा संस्थाप्रति गरेको विश्वासलाई कायमै राख्न र हल्लाको पछाडि नलाग्न आग्रह समेत गरे । संस्थाको कारोबारप्रति शंका लागेमा कार्यालयमै आएर वास्तविकता बुझ्न, वित्तीय अवस्थाबारे सही जानकारी लिन समेत उनले सदस्य र सरोकारवालाहरुसँग आग्रह गरे ।

२०६७ सालमा स्थापित संस्थामा हाल ३ हजार सदस्य छन् । संस्थाले मुख्य कार्यालयबाहेक ५ वटा सेवा केन्द्रमार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्था ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ र राष्ट्रिय सहकारी बैंकमा समेत आवद्ध छ ।

संस्थाले सदस्यहरुको सुविधाको लागि एटिएम सेवा समेत सुरु गर्दैछ । संस्थाले एटिएम सेवा सञ्चालनको लागि स्मार्ट च्वाईस टेक्नोलोजीसँग सम्झौता समेत गरिसकेको संस्थाका अध्यक्ष राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
100 %
Sad
0 %
Angry
0 %

प्रतिक्रिया