
काठमाडौं : ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू बीच एक आपसमा एकीकरणका लागि अन्तिम समझदारी पत्रमा हस्ताक्षर भएको छ।
सोमबार एक कार्यक्रमको बीच समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
यस अघि एकीकरण प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त चलरअचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदनका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १ः१ दुबै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन्।
एकीकरण पश्चात् बैंकको कुल पुँजी ५७ अर्ब, चुक्ता पुँजी ३५.७७ अर्ब, कुल निक्षेप ४ सय अर्ब, कुल कर्जा ३ सय ७९ अर्ब रूपैयाँ भन्दा बढी पुग्नेछ । एकीकरणपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बन्नेछ।
एकीकरणपछि नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुनेछ । बैंक सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमती भएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् ।
एकीकरण पश्चात् कुल ३ सय ८५ शाखा कार्यालय, ३ सय ६७ एटिएम, २ सय ७५ शाखारहित बैंकिंङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, ३ वटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाख भन्दा बढी ग्राहक रहने बैंकले जनाएको छ ।
हस्ताक्षर कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले मुलुकको आवश्यकताअनुसार बैंकिंङ क्षेत्रको विकास हुने बताउँदै ठूला पूर्वाधारमा लगानी गर्न, मुलुकभर वित्तीय पहुँच पुर्याउन र बैंकिंङ लागत घटाउन ठूला र सबल बैंकको आवश्यकता रहने र मर्जरपछि बन्ने बैंकले त्यसको सम्बोधन गर्ने बताए ।
नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशनहरू परिपालनामा ग्लोबल आइएमई बैंक सधैं पहिलो हुने गरेको बताउँदै अध्यक्ष ढकालले तदअनुरूप यो मर्जरको अन्तिम समझदारीपत्रमा हस्ताक्षर गरिएको बताए । उनले मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सम्पूर्ण हिसावले सर्वोत्कृष्ट बैंक बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
त्यस्तै बैंक अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक विकास र समृद्धिमा बैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण रहने बताए ।
प्रतिक्रिया