Sat, 25 Mar, 2023

मरासिनीसँग तेस्रो पटक प्रतिस्पर्धामा रहेका थापा भन्छन्, ‘यसपटक जित निश्चित जस्तै हो’

२०७९ कात्तिक ३० मा प्रकाशितविचार पाना

काठमाडौं : नेपाली कांग्रेसबाट स्याङ्जा १ मा उम्मेदवार बनेका राजु थापा जित उन्मुख रहेको दाबी गरिएको छ ।

नेकपा एमालेका नारायण मरासिनीसँग तेस्रोपटक प्रतिस्पर्धामा रहेका थापाले यसपटक प्रतिस्पर्धीलाई हराउने दाबी कांग्रेसले गरेको छ । गत स्थानीय तहको मतको आधार, एमालेमा विभाजन तथा मरासिनीको संसदीय भूमिका कमजोर रहेकाले कांग्रेसले जित्ने दाबी गरिएको छ ।

२०७४ सालमा स्याङ्जा १ बाट निर्वाचित भएर संघीय सांसद बनेका एमालेका मरासिनीले जिल्लामा कुनै उल्लेखनीय कार्य गर्न नसकेको जिल्लाका नेताहरु बताउँछन् । संसदमा र क्षेत्रमा नदेखिने सांसदका रुपमा मरासिनीको चित्रण जिल्लामा हुने गरेको छ । ‘नीति बनाउनका लागि संसदमा बेजोड तरिकाले बोलेको पनि कहिले सुनिएन । जिल्लाका विकास निर्माणका कार्यमा समेत नारायण मरासिनीको खास योगदान छैन ।’ जिल्लाका कांग्रेसका एक नेता भन्छन्, ‘जनप्रतिनिधि भएर गएकाले कुनै काम गर्न नसक्ने हो भने फेरि किन जिताउने भन्ने मतदातामा परेको छ ।’

मरासिनीलाई २०७० सालमा भने कांग्रेसका हालका उम्मेदवार थापाले हराएका थिए । २०७४ सालमा वामगठबन्धनको बलमा मरासिनी निर्वाचित भएका थिए । 

तत्कालीन नेकपा नै चार टुक्रा भएकाले थापालाई यसपटक जित निकाल्न सहज भएको विश्लेषण गरिएको छ । अर्कोतर्फ, थापालाई गठबन्धनको मत पनि थपिने भएको छ । स्याङ्जा १ को (क) मा माओवादी केन्द्रको केन्द्रीय नेता उम्मेदवार हुँदा थापाका लागि वातावरण थप मजबुत बनेको छ । कांग्रेस सहित माओवादी केन्द्र, एकीकृत समाजवादीको मत थापाको पक्षमा खस्ने भएको छ । 

थापा स्वयं कांग्रेसको जिल्ला सभापति हुनाले पनि मतदातामा उनि प्रतिको विश्वास बढेको छ । यसपटक आफ्नो जित सुनिश्चित भएको थापाले बताए । ‘अघिल्लोपटक वामगठबन्धन बनेर नारायण जीले जित्नु भएको हो । कांग्रेस आफैंमा बलियो शक्ति बनेको छ । स्थानीय मतको आधारमा पनि हामी पहिलो दल हो ।’ उम्मेदवार थापाले भने, ‘सबै दृष्टिकोणले मलाई सजिलो भएको छ । जित निश्चित जस्तै हो । कति अन्तरले जित्ने भन्ने मात्रै हो ।’

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्याङ्जा १ मा कांग्रेसले मत बढाएको छ । पहिलो दल बनेको कांग्रेसले ३७ हजार ५१० मत ल्याउँदा एमालेको पक्षमा ३६ हजार ८४५ मत खसेको थियो । माओवादी केन्द्र १ हजार ९८४ मत ल्याउँदा एकीकृत समाजवादीले स्याङ्जा १ क्षेत्र भरिमा १४६ मत प्राप्त गरेको थियो ।

यस क्षेत्रमा पुतलीबजार नगरपालिका, अर्जुनचौपारी, आँधीखोला, फेदीखोला, विरुवा हरिनास गाउँपालिका र भीरकोट नपाको १ देखि ४ सम्मका वडा र वालिङ नगरपालिकाको ३ र ४ वडा पर्दछन् ।
स्थानीय तहमा पुतलीबजार, भिरकोट, अर्जुनचौपारीमा कांग्रेसले जितेको छ । आँधीखोला, फेदीखोला, विरुवा, हरिनासमा एमाले विजयी भएको छ । एमालेले जितेको फेदीखोला, विरुवा, हरिनासमा कांग्रेस झिनो मतान्तरले हारेको थियो । थापाको व्यक्तित्वका कारणले पनि कांग्रेसको मत बढ्ने विश्लेषण जिल्लामा हुने गरेको छ । पार्टी भित्रका दुबै समूहसँग समदुरी राख्न थापा सफल भएकाले कांग्रेसको सम्पूर्ण मत खनिनेमा जिल्लाका नेताहरु विश्वस्त छन् । 

२०७४ विजयी हुँदा ३९ हजार २२६ मत पाउँदा पाएका थिए । अघिल्लोपटक थापाको पक्षमा २८ हजार ६६२ मत खसेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

प्रतिक्रिया