चेपाङ समुदायबाट ४ जीपीए ल्याउने पहिलो विद्यार्थी सविना प्रजा

मंगलबार, आषाढ १७, २०८२

theme

२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सविना प्रजा ४ जीपीए ल्याउन सफल भएकी छन्।

कक्षा ८ सम्मको पढाइ पञ्चकन्या आधारभूत विद्यालय, काठमाडौँबाट पूरा गरेकी १८ वर्षीया सविनाले काठमाडौँकै शिवपुरी माध्यमिक विद्यालयबाट एसईई दिएकी हुन्। 

अति सीमान्तकृत समुदायका रूपमा रहेको चेपाङ समुदायबाट ४ जीपीए ल्याएर कक्षा १० को परीक्षा उत्तीर्ण गर्नेमा उनलाई पहिलो विद्यार्थी मानिएको छ। 

नेपाल चेपाङ संघका महासचिव सन्तबहादुर चेपाङ भन्छन्, ‘गोरखा, चितवन लगायतका जिल्लामा बुझ्दै छु। हाम्रो समुदायबाट अहिलेसम्म ४ जीपीए ल्याउने विद्यार्थी अर्को भेटिएको छैन।’ 

 

धादिङकी सविना आफ्नो घर परिवार छाडेर काठमाडौंको विशालनगरस्थित एक घरमा बसेर पढ्न थालेकी हुन्, जहाँ उनकी फुपू काम गर्छिन्।

‘फुपूले म्याम (घरधनी) को घरमा राम्रो गर्छन्, बस भन्नुभयो,’ सविनाले काठमाडौं आउँदाको प्रसंग सुनाइन्।  

सविनाकी संरक्षक बनेर घरधनी सावित्री पाण्डेले उनलाई पढाउन चाहिन्।

‘यहाँ आउँदा ८-९ वर्षकी थिइन्। घरमा काम सघाउने अरू पनि थिए। पढ्ने हो भने मात्र राख्छु भनेँ। उनले मानिन् र पञ्चकन्यामा कक्षा १ मा भर्ना गरिदिएँ,’ पाण्डेले भनिन्।

जन्मघर छाडेर पाण्डेको घरमा बस्न थालेकी सविनाले त्यहाँ सहयोगी वातावरण पाइन्। उनी भन्छिन्, ‘पढ्नका लागि समय पाएँ। सपोर्ट पाएँ। घरको काम धेरै गर्नुपर्दैन। सरसफाइको काम मात्र हो।’

सविनाको परिवारमा आमा, बुवा, दिदी, बहिनी र दुई भाइ छन्। उनका दिदी, बहिनी र भाइले पढाइ बीचमै छाडे। उनको एउटा सानो भाइचाहिँ दुई वर्षका छन्।

काठमाडौँलगायत सहरी क्षेत्रहरूका सामुदायिक विद्यालयहरूमा थुप्रै विद्यार्थी अरूको घरमा बसेर पढिरहेका छन्। कति त बस्न नसकेर घर नै फर्कन्छन्। कतिचाहिँ पढाइका लागि समय नै पाउँदैनन्।

पञ्चकन्याकी प्रधानाध्यापक विनिता रञ्जित भन्छिन्, ‘सविना अतिरिक्त कार्यक्रमहरूमा पनि भाग लिन्थिन्। बाहिर जानुपर्ने हुन्थ्यो। अरूको घरमा बसेकी नानी हुन्। केही समस्या छ कि भनेर सोध्ने गर्थ्यौँ। छैन भन्थिन्। उनले राम्रो वातावरण पाइन्। सीमान्तकृत समुदायकी नानीको लागि उहाँहरूले गरेको सहयोग प्रशंसनीय छ।’ 

सविना सानैदेखि पढाइमा खुब मन लगाउँथिन्। उनकी संरक्षक पाण्डे भन्छिन्, ‘पञ्चकन्यामा त राम्रो गर्थिन् नै। शिवपुरीमा दुई तीनवटा सेक्सन थिए। त्यहाँ पनि राम्रो गरिन्। गड गिफ्ट नै होला। हामीले शिक्षाको महत्त्व बुझेकाले उनलाई पढ्ने वातावरण दियौँ। उसको सफलतमा धेरै खुसी लागेको छ।’

प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङकी विद्यार्थी सविना कक्षा ११ मा पनि यसै विषयलाई निरन्तरता दिन चाहन्छिन्। उनी शिवपुरी माविबाट एसईईमा चार जीपीए ल्याउने पहिलो विद्यार्थी पनि हुन्। अर्थात्, शिवपुरीका लागि समेत इतिहास रच्न उनी सफल भएकी छिन्। 

सविना आफू खुसी नहुने कुरै भएन। परिवारमा पनि खुसियाली छाएको उनी बताउँछिन्।

आफ्नो सफलताको श्रेय उनी आफ्नो विद्यालय र त्यहाँका शिक्षकहरूलाई पनि दिन्छिन्। भन्छिन्, ‘पञ्चकन्यामा सानैदेखि पढेँ। त्यहाँ राम्ररी सिकेकोले शिवपुरीमा पनि राम्रो गरेँ। शिक्षकहरूका कारण पनि नतिजा राम्रो आयो। मैले पनि मेहनत गरेँ।’

सविनालाई शिवपुरी माविमा कक्षा ९ मा अंग्रेजी पढाएकी शिक्षक प्रभा खड्काको नजरमा उनी परिश्रमी र लगनशील विद्यार्थी हुन्।

राम्रो जीपीए आउँछ भन्नेमा सविना ढुक्क थिइन्। ‘मैले मेरो तर्फबाट बेस्ट गरेकी थिएँ। तर चार जीपीए नै आउँछ भन्नेचाहिँ थिएन,’ उनले नेपालखबरसँग भनिन्। 

उनी गृहकार्यबाहेक घरमा नियमित अढाइ घण्टा समय पढाइ-लेखाइका लागि छुट्याउने गर्थिन्। भन्छिन्, ‘बिहान ५ देखि साँझ साढे ७ बजेसम्म पढ्थेँ। लेख्थेँ। रिभाइज गर्थेँ।’

विशेष गरी कक्षा १० मा देशैभरिका विद्यालयमा बिहानदेखि साँझसम्म पढाइ हुने गर्छ। तर, उनले विद्यालयमा अतिरिक्त कक्षा लिइनन्।

‘बिहान र साँझ अतिरिक्त कक्षा हुन्थ्यो तर मैले लिइनँ। घरमै अभ्यास गर्थेँ,’ उनको भनाइ छ।

नियमिततर्फ ४ लाखभन्दा बढी विद्यार्थी सहभागी भएको एसईई परीक्षामा देशभरिबाट ९७१ जनाले ४ जीपीए ल्याएका छन्। यो संख्यामा पर्नु कुनै पनि विद्यार्थीका लागि ठूलो उपलब्धि हो। सविना प्रजाको यो उपलब्धि अरूका लागि पनि उदाहरणीय भएको छ। 

सार्वजनिक विद्यालयको नतिजा खस्किनुको मुख्य कारण सामाजिक, आर्थिक, शैक्षिक रूपले पछि परेका समुदायका बालबालिकाको अवस्था नै हो भन्नेहरूलाई उनले गलत सावित गरिदिएकी छन्। विद्यालय र बाहिर साथ सहयोग पाए उनीहरूले राम्रो गर्न सक्छन् भनेर प्रमाणित गरिदिएकी छन्। 

नेपाल खबर अनलाइनबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :