तिब्बत बाढीको प्रभाव बेनिघाटसम्म देखिन सक्ने, सरकारले भन्यो : सतर्क रहनू

मंगलबार, आषाढ २४, २०८२

theme

तिब्बतबाट आएको बाढीको प्रभाव त्रिशूली नदी र बुढीगण्डकी दोभानसम्म देखिन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार बिहान तिब्बतबाट आएको बाढी भोटेकोशी नदीमा मिसिएको हो ।

नारायणी नदी जलाधारको त्रिशूली उपजलाधारअन्तर्गत भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट ठूलो बाढी प्रवेश गरेको महाशाखाले जनाएको छ । महाशाखाले भनेको छ, 'यस विभागको भोटेकोशीस्थित रसुवा-स्याप्रुबेंसी जलमापन केन्द्रमा आज बिहान ३:३० बजे बाढी पुगेको देखिन्छ ।'

महाशाखाका अनुसार उक्त बाढी बिहान ५ बजेतिर बेत्रावती आइपुगेको थियो । बेत्रावती केन्द्रमा बहाव करिब साढे २ मिटरसम्म बढेको र हाल केही घट्दो क्रममा रहेको महाशाखाले जनाएको छ । साथै महाशाखाले त्रिशूली नदी किनार आसपासका स्थानीयलाई सतर्क रहन आग्रह गर्दै भनेको छ, 'प्रारम्भिक रूपमा यस बाढीको प्रभाव त्रिशूली नदीको बुढीगण्डकी दोभान (बेनिघाट) आसपाससम्म पर्ने देखिएकोले आज दिउँसोसम्मै सतर्कता जरुरी देखिएको छ।'

भोटेकोशीमा आएको बाढीले रसुवागढी नाकास्थित नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । बाढीमा परी ३ प्रहरी, भन्सार यार्डमा काम गर्ने ९ नेपाली र ६ जना चिनियाँ नागरिक सम्पर्कविहीन रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :