नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बुधबार १८ जना नेतालाई कारबाहीको सिफारिस गरेको पत्र सार्वजनिक गर्यो। कारबाहीको सिफारिसमा पर्नेहरूमध्ये अधिकांश पार्टीभित्र डा शेखर कोइरालाले नेतृत्व गरिरहेको इतर समूहका नेता रहेको उनीहरूकै दाबी छ।
अनुशासन समिति संयोजक छन् आनन्दप्रसाद ढुंगाना। उनी सभापति शेरबहादुर देउवानिकट नेता हुन्। ढुंगाना नेतृत्वको उक्त समितिको बैठक यही असार ९-१७ गतेसम्म बसेको थियो। सोही बैठकले नै कारबाहीमा पर्ने नेताहरूको सूची तयार पारेको हो।
लुम्बिनी पार्टी सभापति विक्रम खनाल, खोटाङका पार्टी सभापति विष्णुकुमार राई, गण्डकीका पूर्वमन्त्रीसमेत रहेका नेता कुमार खड्का, कास्कीका निवर्तमान जिल्ला सभापति कृष्ण केसीसहितलाई १ वर्षसम्म पार्टीबाट निष्काशन गर्ने कारबाहीको प्रस्ताव गरिएको छ। यी तीनैजना शेखर समूहकै हुन्। यीबाहेक अन्य पनि अधिकांश शेखरकै समूहका रहेको भनिएको छ।
अनुशासन समितिमा संयोजक ढुंगाना, सदस्यहरू ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइराला छन्। गौतम र कोइराला शेखर समूहका हुन्।
नेताहरूलाई पार्टीबाटै निष्कासन गर्ने निर्णयमा यी दुवै सदस्यले असहमति व्यक्त गरेका थिए। उनीहरूले निर्णयमा 'नोट अफ डिसेन्ट' लेखेर आपत्ति जनाएका थिए।
'...अनुशासनको कारबाहीको निर्णयमाथि हाम्रो गम्भीर असहमति छ। कारबाहीको नाममा स्पष्टीकरण सोध्ने, सचेत गराउने, निश्चित समयका लागि पदबाट निलम्बन गर्न सक्ने अवस्था रहँदारहँदै पार्टीबाट नै निष्कासन गर्नेसम्मको निर्णय गर्नु उपयुक्त हुँदैन,' गौतम र कोइरालाले लेखेको नोट अफ डिसेन्टमा उल्लेख छ, 'नेकपा माओवादीलगायत अरु पार्टीहरूसँग संसदीय निर्वाचनमा गरिएको पार्टीको गठबन्धन गर्ने निर्णय र किटक वितरण प्रक्रियामा अवलम्बन गरिएको अपारदर्शिता र पूर्वाग्रही निर्णयहरूका कारण सिर्जिन परिस्थितिको वस्तुगत मूल्यांकन विवेचना नगरी अनुशासनको नाममा हठात निष्कासन गर्नेसम्मको कठोर निर्णय लिँदा पार्टीमा झन् ठूलो समस्या आउनेछ।'
शेखरको ब्रिफिङ
बिहीबार काठमाडौँको विशालनगरस्थित सचिवालयमा शेखरले आफूनिकट नेतालाई बोलाएका थिए। बुधबार कारबाहीको सिफारिसको पत्र सार्वजनिक भइसकेपछि शेखरले सचिवालयमार्फत आफूनिकट नेताहरूलाई सम्पर्क गरी आजको छलफलमा सहभागी हुन भनेका थिए।
बिहान ९ बजे बसेको बैठकको सुरुमै नेताहरूलाई शेखरले स्वागत गरे। त्यसपछि नेताहरूले आफ्नो कुरा राखेका थिए। नेताहरूको कुरा सुनिसकेपछि शेखरले आफ्नो कुरा राखे।
'म अन्याय हुन दिन्नँ। अन्यायविरुद्ध लड्छु। म साथीहरूमाथि अन्याय हुन दिँदै दिन्नँ,' उनले भने, 'अन्यायपूर्ण कारबाही गरिएको छ। यसका विरुद्ध म लड्छु।'
शेखरले पार्टीका सभापति र महामन्त्रीहरूसँगको छलफलमा कारबाहीको प्रक्रिया अघि नबढाउने सहमति भएको तर अहिले कारबाही अघि बढाइएको भन्दै आपत्ति जनाएका थिए।
'जुन कुरा अगाडि नबढाउने भन्ने थियो त्यो अघि बढ्यो। अब केन्द्रीय समितिमा यो पेस हुन्छ,' उनले भने, 'त्यहाँबाट अनुमोदन हुन दिइँदैन। अल्पमतमा र बहुमतमा भएको निर्णय गरिएको हो। यो लागू हुन केन्द्रीय समितिले अनुमोदन गर्नुपर्छ। यसो हुन दिइँदैन।'
त्यस्तै बैठकमा उपसभापति धनराज गुरूङ, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्यहरू मीनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, बलबहादुर केसी, हृदयराम थानी, दिलेन्द्रप्रसाद बडू, चन्द्र भण्डारी, कृषिमन्त्री रामनाथ अधिकारी, खेलकुदमन्त्री तेजुलाल चौधरी, सरिता प्रसाईं, दीपक गिरी, गुरुराज घिमिरे, राजेन्द्र बजगाईँ, अनुशासन समितिका सदस्य सञ्जय गौतमसहितका नेता सहभागी थिए।
गौतमले अनुशासन समितिमा संस्थापन समूहका नेताहरूले गरेको अन्तर्घातको उजुरीहरू पनि आएको र छलफल पनि भएको जानकारी गराए। तर कारबाहीको सिफारिसका विषयमा भने इतर समूहका नेताहरूमाथि लक्षित गरिएको सुनाए।
'अनुशासन समितिमा उजुरीको संख्या २१ सय बढी थियो। यी सबै उजुरी निवेदनबारे छलफल भयो। तर कारबाहीको सिफारिसका विषयमा भने धेरै विवाद भएको थियो,' अनुशासन समितिमा भएको छलफलबारे ब्रिफिङ गर्दै उनले भनेका थिए, 'हामी राजीवजी र म कारबाही के गर्ने टुंगो लगाऊँ, पार्टीबाटै निकाल्ने निर्णय गर्नु उचित हुँदैन भन्नेमा अडिग रह्यौँ। तर उहाँहरूले बहुमतका आधारमा निर्णय गर्नुभयो।'
पूर्वाग्रह राखिएको निष्कर्ष
आजको छलफलले पूर्वाग्रह राखेर नेताहरूमाथि कारबाही गरिएको निष्कर्ष पनि निकालेको छ। नेता अर्जुननरसिंह केसीले कारबाही पक्षपातपूर्ण र पूर्वाग्रही रहेको बताए। ‘कारबाहीहरु अत्यन्त पक्षपातपूर्ण र पूर्वाग्रही छ। सिंगो पार्टीको हित र पार्टीको विधानलाई गम्भीर अध्ययन गरेर हुनुपर्नेमा त्यसको विपरीत भएको छ,’ उनले भने, ‘नेपाली कांग्रेसको विधान र नियमावलीले उजुरी परेको ६ महिनाभित्रै कारबाही गर्नुपर्ने भनेको छ। अहिले आएर दुईतीन वर्षपछि किन कारबाही भइरहेको छ? यो गम्भीर कुरा छ। १५ औँ महाधिवेशनलाई लक्षित गरेर विधि, विधान र प्रक्रिया विपरीत पूर्वाग्रहले काम भएको छ। कुनै पनि साथीहरुलाई हामी अन्याय हुन दिँदैनौँ। विधान र विधानको नियमावलीभन्दा बाहिर गएर भएका कुनै कारबाही स्वीकार गर्दैनौँ।’
खोटाङ जिल्ला सभापति विष्णुकुमार राईले पार्टीको विधानभन्दा बाहिर गएर आफूसहितका नेताहरूमाथि कारबाही गरिएको भन्दै आपत्ति जनाए।
‘पार्टीको विधानभन्दा बाहिर गएर पार्टीलाई क्षति पुर्यायो भने उसलाई अनुशासनको ट्रयाकमा ल्याउनुपर्छ भन्ने विधान थियो। त्यो प्रावधानलाई उपयोग गर्दा कुन ढंगले उपयोग गरेको छ, त्यसको अन्तर्यलाई बुझ्नुपर्छ,’ उनले भने, ‘यो आग्रह र पूर्वाग्रहबाट प्रेरित छ। बीपीको विचारबाट प्रेरित भएर पार्टीमा लागेको हो। अहिलेको नेतृत्वहरू जान्दैनौँ। पार्टी विचार, सिद्धान्त र ट्रयाकभन्दा बाहिर गइरहेको छ।’
नेता गुरु घिमिरेले अनुशासन समितिले गरेको कारबाही पार्टी विधान र नियमावलीविपरीत रहेको बताए।
‘अनुशासन समितिले गरेको कारबाही पार्टी विधान र नियमावली विपरीत छ। अवैधानिक छ। यो पक्षपातपूर्ण र गुट प्रेरित छ। पार्टीभित्रको अर्को पक्षलाई पाखा लगाउने उद्देश्यमा आधारित छ,’ उनले भने, ‘यो निर्णय बहुमत र अल्पमतका आधारमा गरिएको छ। अनुशासन समितिका ५ जना सदस्यमध्ये दुईजनाले नोट अफ डिसेन्ट लेख्नुभएको छ।’
नेताहरूले राजनीतिक रुपबाट अभिप्रेरित भएर कारबाही गरिएको र अनुशासनको कारबाहीको प्रक्रियाबारे सभापति शेरबहादुर देउवालाई स्मरण गराउने निष्कर्ष निकालिएको उनको भनाइ छ।
यी हुन् कारबाहीको सिफारिमा परेका १८ नेता
१ वर्षको कारबाहीमा परेकाहरू
१. तेह्रथुम जिल्लाका महासमिति सदस्य तुलसी सुब्बा
२. कास्की जिल्लाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का
३. लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल
४. खोटाङ जिल्लाका सभापति विष्णुकमार राई
५. पर्सा जिल्ला क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्ता
६ महिनाका लागि कारबाहीमा परेकाहरू
१. धनुषा जिल्ला लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादव
२. धनुषा जिल्ला सबैला नगरपालिकाका नगर सभापति खटरु यादव
३. धनुषाधाम नगरपालिका वडा नं. १ का रामबाबु यादव
४. मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव
५. कास्की जिल्ला क्षेत्र नं. २ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ
६. कैलालीको धनगढी उपमहानगरपालिका २ का महाधिवेशन प्रतिनिधि भीमबहादुर शाह
७. कैलालीका निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवर
८. धनगढी उपमहनगरपालिका १ का पूर्व महासमिति सदस्य आनन्दराज जोशी
९. धनगढी उपमहानगरपालिका २ का क्षेत्रीय प्रतिनिधि रविन्द्रप्रताप सिंह
१०. क्रियाशील सदस्य लेखराज ओझा
११. धनगढी उपमहानगरपालिका १ का क्रियाशील सदस्य सुभाष चन्द
१२. धनगढी उपमहानगरपालिका ५ का पूर्वमहाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरी
त्यस्तै कांग्रेसका कास्की जिल्ला सभापति कृष्ण केसी ३ महिने कारबाहीमा परेका छन्।