धादिङ — धुनीवेशी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदीलाई आज विहान काठमाडौंको कलंकीबाट प्रहरीले पक्राउ गरेको छ।
सात महिनादेखि फरार रहेका सुवेदी सार्वजनिक किर्ते मुद्दाका फरार प्रतिवादी हुन्। उनले उमेर नपुगेको नाबालकलाई उमेर पुगेको देखाई झुटो जन्मदर्ता प्रमाणपत्र तयार पारी सोही आधारमा नागरिकता बनाई त्यसको प्रयोग गरी जग्गा बिक्री गरेको अभियोगमा जिल्ला अदालत धादिङमा मुद्दा दर्ता गरिएको थियो।
प्रहरीको खोजी सूचीमा रहेका सुवेदीलाई पक्राउ गरेपछि थप अनुसन्धानका लागि धादिङ ल्याइएको छ।
सुवेदी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट तथा २०७९ सालको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) पार्टीबाट निर्वाचित भई वडा अध्यक्ष बनेका थिए।