नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेस अब परम्परागत शैलीबाट माथि उठेर ‘कांग्रेस २.०’ अर्थात् बदलिएको कांग्रेसमा रूपान्तरण भएको बताएका छन्।
बुधबार सामाजिक सञ्जालमा एक भिडियो राख्दै उनले पार्टीको पुनर्जागरण र भावी कार्यदिशाबारे बताएका हुन्।
थापाले गत निर्वाचनमा मतदाताले कांग्रेसलाई मत दिए पनि उनीहरूको मनमा आक्रोश र असन्तुष्टि रहेको तथ्यलाई आफूले गम्भीरतापूर्वक लिएको सुनाए।
‘निर्वाचन जित्न र सरकार बनाउन जे पनि गर्ने तरिकाप्रति जनताको गुनासो थियो,’ थापाले भने, ‘जनताको सोही चाहना र सडकको आवाजलाई सुनेर हामीले कांग्रेस बदल्ने जोखिम उठायौँ र आज बदलिएको कांग्रेस लिएर आएका छौं।’
के हो कांग्रेस २.० ?
उनले ‘कांग्रेस २.०’ भनेको केवल अनुहार फेरिनु मात्र नभई सोच, संकल्प र शैली फेरिनु भएको बताए।
लोकतन्त्र, सामाजिक न्याय र समावेशीताजस्ता पार्टीका मूल आदर्शलाई कायम राख्दै नयाँ शैलीमा अघि बढ्नु नै नयाँ कांग्रेसको सार भएको उनको भनाइ छ।
‘यो कांग्रेसको पुनर्जागरण हो,’ थापाले भने, ‘यसले हिजोका राम्रा कामको गौरव गर्छ तर विगतका गल्तीहरूलाई नलजाईकन स्वीकारेर सच्याउँछ।’
बदलिएको कांग्रेसले अब सत्तामा पुग्न वा सरकार टिकाउनका लागि कुनै पनि अस्वाभाविक सम्झौता नगर्ने थापाले प्रतिबद्धता जनाएका छन्।
‘सत्तामा पुग्न जोसँग पनि मिल्ने काम अब कांग्रेसले गर्दैन,’ उनले भने, ‘बरु हामी आनन्दले प्रतिपक्षमा बस्छौँ, तर सिद्धान्तसँग सम्झौता गर्दैनौँ।’ उनले पार्टीलाई केवल चुनाव जित्ने मेसिन मात्र नबनाई यसलाई एक वैचारिक र सामाजिक आन्दोलनको रूपमा अघि बढाउने बताए।
सुशासनको सन्दर्भमा बोल्दै थापाले बदलिएको कांग्रेसले भ्रष्टाचार र कुशासनमा सेलेक्टिभ नहुने स्पष्ट पारे। ‘रुखको छहारीमुनि बसेको होस् वा ठूलो नेता होस्, जसले कानुन उल्लङ्घन गर्छ उसले सजाय भोग्नैपर्छ,’ थापाले भने, ‘आफ्नो मान्छे होस् वा अर्काको, विधिको शासनमा कांग्रेसले सम्झौता गर्दैन।’
उनले पार्टी छोडेर गएका, निराश भएका र नयाँ युवाहरूलाई बदलिएको कांग्रेसमा जोडिन आह्वान गरेका छन्। कांग्रेस अब भाषणमा नभई पर्फमेन्समा विश्वास गर्ने पार्टी बनेको दाबी गर्दै उनले भने, ‘तपाईंले खोजे जस्तै र रोजे जस्तै कांग्रेस बनाएर आएका छौं। यो बदलिएको कांग्रेसले देश बदल्ने संकल्प लिएको छ, यसमा साथ दिनुहोस्।’
उनले कांग्रेसको विधान र व्यवहारमा परिवर्तन गर्दै पार्टीका सदस्यलाई नै सर्वशक्तिमान बनाइएको र अब नेतृत्वले नभई तल्लो तहका सदस्यले उम्मेदवार छान्ने प्रणाली स्थापित गरिने समेत उल्लेख गरेका छन्।