मुम्बई — नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टिमको लक्ष्य भनेकै ट्वान्टी-२० विश्वकप २०२६ को सुपर–एट पुग्ने रहेको बताएका छन् ।
प्रतियोगिता औपचारिक रूपमा सुरु हुन दुई दिन अगाडि भारतीय क्रिकेट बोर्ड बीसीआईको मुख्यालयमा आयोजित ‘क्याप्टेन्स डे’ कार्यक्रममा यो विश्वकपमा नेपालको सहभागिताले अबको पुस्तालाई क्रिकेटमा पनि यस खेलसँग जोडिन प्रेरित गर्ने बताएका छन् ।
रोहितले भने, ‘अहिलेको टिममा जति पनि खेलाडी छन्, ती सबै सन् २०१४ मा नेपालले खेलेको पहिलो ट्वान्टी-२० विश्वकपबाट प्रेरित भएर यो खेलमा आएका छन् । मलाई के विश्वास छ भने यो विश्वकपमा हाम्रो सहभागिताले अबको पुस्तालाई क्रिकेटमा आफ्नो करियर देख्न मद्दत गर्नेछ ।’ यसैक्रममा उनको के पनि माने भने यसका लागि प्रतियोगितामा नेपाली टिमको प्रदर्शन पनि राम्रो हुन पर्नेछ ।
उनले प्रतियोगितामा नेपालको सम्भावनाबारे सकारात्मक रहनु पर्ने पनि बताए । उनको तर्क थियो, ‘हामीले वेस्ट इन्डिजलाई हराएका मात्र छैनौँ, सिरिज नै जितेका छन् । बंगलादेश र दक्षिण अफ्रिकाविरुद्धको खेलमा पनि हामी जितको नजिकसम्म पुग्न सकेका थियौं । यो सबै हामीलाई यसपल्टको विश्वकपमा खेल्न प्रेरित राख्नेछ ।’ उनले भारतीय पूर्व कप्तान रोहित शर्माको प्रशंसक रहेको पनि माने ।
यी दुई खेलाडीको नाम मिलेकोबारे सोधिएको प्रश्नमा उनले भने, ‘भनिरहनु पर्दैन, म रोहित शर्माको प्रशंसक हुं । तर उनीसँग नाम मिलेको भन्दैमा मेरो खेलबाट धेरै आश गर्नु अलिकति अन्याय नै हुनेछ । तर हामी नेपालले यो विश्वकपबाट जति अपेक्षा गरेको छ, त्यस अनुसार खेल्ने तयार छौं र त्यसै अनुसार प्रदर्शन पनि गर्नेछौं ।’