केही विवाद, केही अन्योल, धेरै उत्साह, आशा र नयाँ उमंगका साथ टी–ट्वान्टी विश्वकप शनिबारबाट सुरु भएको छ । क्रिकेटको छोटो संरचना मानिने टी–ट्वान्टी क्रिकेटलाई लोकप्रिय बनाउन विभिन्न देशका फ्रेन्चाइज प्रतियोगितासँगै हरेक दुई वर्षमा आयोजना हुने विश्वकपले पनि महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
टी–ट्वान्टी विश्वकप सुरु भएको लामो समय भएको छैन । तर, यसको लोकप्रियताले भने हरेक वर्ष शिखर चढिरहेको छ । पछिल्लो समयको चर्चित फरम्याट टी–ट्वान्टी विश्वकप शनिबारबाट भारत र श्रीलंकामा सुरु भएपछि अबका केही साता खेलकुद वृत्तमा यसकै चर्चा र परिचर्चा चलिरहने छ ।
टी–ट्वान्टी विश्वकपमा सहभागी २० टोलीमध्ये नेपाल पनि एक हो । नेपालले तेस्रोपटक टी–ट्वान्टी विश्वकप खेल्न लागेको हो । सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी–ट्वान्टी विश्वकपमा पहिलोपटक छनोट भएको नेपालको त्यसको १० वर्षपछि अर्थात् सन् २०२४ मा दोस्रोपटक विश्वकपमा छनोट भएको थियो । नेपालले लगातार दोस्रोपटक विश्वकप खेल्न लागेको भने पहिलोपटक हो । टी–ट्वान्टी विश्वकपमा नेपाल समूह ‘सी’मा छ । निकै कठिन मानिएको समूह ‘सी’मा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन् ।
‘ग्रुप अप डेथ’ मानिएको यही समूहबाट आफूलाई अब्बल सावित गर्दै सुपर–८ मा स्थान बनाउने अभियानमा नेपाल छ । दुई÷दुईपटकका विश्वकप विजेता इंग्ल्यान्ड र वेस्ट इन्डिजलाई मात्रै होइन, सातौं पटक विश्वकप खेलिरहेको स्कटल्यान्ड र नवप्रवेशी इटालीलाई पछि पार्दै अघिल्लो चरणमा पुग्ने अभियानमा नेपाल छ । त्यसैले सहभागी अन्य १९ राष्ट्रलाई झैं यो विश्वकपको ज्वरोले नेपाललाई पनि तताइसकेको छ । आज मुम्बईको वाङ्खडे स्टेडियममा विश्व क्रिकेटको महारथी इंग्ल्यान्डसँग नेपालले भिड्दै गर्दा रंगशालामा नेपाली झन्डा फरफराउनुका साथै ‘नेपाल–नेपाल’को ध्वनिले गुञ्जयमान हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार आयोजक भारतपछि सर्वाधिक टिकट किन्ने राष्ट्र नेपाल हो । अघिल्लो संस्करण अमेरिका र वेस्ट इन्डिजमा हुँदासमेत नेपाली दर्शकको घुइँचो रंगशालामा लागेको थियो । यसपटक हाम्रै छिमेकी मुलुकमा हुँदा नेपाली दर्शक नपुग्ने कुरै भएन । त्यही कारण टिकट खरिदमा पनि नेपाली दर्शकको उभार देखिएको हो ।
टी–ट्वान्टी विश्वकपको १०औं संस्करणमा २० टोली सहभागी छन् । सन् २०१० मा दक्षिण अफ्रिकामा १२ टोलीबाट सुरु भएको विश्वकपमा पछिल्लो समय २० टोली पुर्याइएको हो । विश्वका यी उत्कृष्ट २० टोलीबीचको रस्साकस्सी र श्रेष्ठताको लडाइँ ३० दिनसम्म लगातार चल्ने छ । विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा पाँच टिम रहने छन् । हरेक समूहका शीर्ष दुई टोलीले सुपर–८ मा स्थान बनाउने छन् । सुपर–८ बाट चार टोली सेमिफाइनलमा पुग्ने छन् । त्यसपछि आगामी फागुन २४ गते विश्वकप विजेता टोलीको निर्णय हुनेछ ।
दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेसनल मन्डेलाले खेलकुदका विषयमा दिएको एउटा अभिव्यक्ति निकै चर्चित छ, खेलकुदमा संसार बदल्ने शक्ति हुन्छ । खेलमा मानिसलाई प्रोत्साहन गर्ने शक्ति छ । अन्य शक्तिले भन्दा खेलले मानिसलाई एकताबद्ध गर्न सक्छ । यसले युवाहरूसँग उनीहरूकै भाषामा सम्वाद गर्छ । खेलले निरासामा मात्रै रहेको समाजमा पनि नयाँ आशा जगाउन भूमिका खेल्दछ ।
उनको यो भनाइ पछिल्लो समय नेपालको खेलकुद क्षेत्रमा मात्रै होइन, राजनीतिक वृत्तमा पनि उत्तिकै सान्दर्भिक छ । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि सिर्जित राजनीतिक अन्योल र निरासाको अवस्थामा सम्पूर्ण नेपालीलाई एक सूत्रमा बाध्ने र उनीहरूको मुहारमा खुसी ल्याउने र आशाको ज्योति बाल्ने काम खेलकुद क्षेत्र विशेषगरी क्रिकेटले नै गरेको थियो । टी–ट्वान्टी विश्वकपमार्फत त्यो खुसी, उत्साह र उमंग थप प्रज्योर्तित बनाउन सकोस् नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विजयको हार्दिक शुभकामना ।