मुम्बई — लोकेश बमको साहसका बावजुद नेपाल ट्वान्टी–२० विश्वकपमा आइतबार इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । लोकेशले २० बलमा ३९ रन बनाए पनि १ सय ८५ रनको लक्ष्य लिएर आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ८० रनमात्र बनाउन सक्यो ।
मुम्बईको वानखडे रंगशालामा उपस्थित १७ हजार मध्ये अधिकांश नेपाली समर्थक नेपाली रहेका थिए । त्यही नेपालले अन्तिम बलसम्म इंग्ल्यान्डको प्रतिरोध गरेको थियो । लोकेशले ४ चौका र २ छक्का प्रहार गरे पनि अन्तिम २ बलमा बाउन्ड्री प्रहार गर्न नसक्दा नेपाल ट्वान्टी–२० विश्वकपमा टेस्ट राष्ट्र सामु विजयको मुखमा पुगेर रोकिएको थियो ।
अन्तिम ओभरमा विजयका लागि १० रन चाहिने अवस्थामा नेपालले ५ रनमात्र बनाउन सक्यो ।
कुशल भुर्तेल र आसिफ शेखले ४ ओभर भित्र ३७ रन जोडेर नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । एक चौका प्रहार गरेका आसिफ ९ बलमा ७ रन बनाई आउट भए । दोस्रो ओभर देखि निकै आक्रामक खेलेका कुशलले १७ बलमा २९ रन बनाए । उनले ४ चौका र १ छक्का प्रहार गरे ।