काठमाडौँ–पोखराका मतदातासँग रमेश धमलाको अन्तरक्रिया

आइतबार, फाल्गुण १०, २०८२

theme

धादिङ । रमेश धमलाले काठमाडौँ र पोखरामा बसोबास गर्दै आएका धादिङ क्षेत्र नं. २ का मतदातासँग सम्मानपूर्वक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्नुभएको छ। विभिन्न पेशा–व्यवसायका कारण जिल्ला बाहिर रहनुभएका मतदातालाई लक्षित गर्दै उहाँले चुनावी अभियानलाई निरन्तरता दिनुभएको हो।

शनिबार बिहान काठमाडौँ पुग्नुभएका धमलाले बनस्थलीमा नीलकण्ठ नगरपालिका–९ का मतदातासँग आसन्न निर्वाचनबारे अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम सम्पन्न गर्नुभयो। त्यसपश्चात् ज्वालामुखी गाउँपालिकाको ढोला काठमाडौँ सम्पर्क समिति र मैदी काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भई उहाँले मतदातासँग प्रत्यक्ष संवाद गर्नुभयो।

कार्यक्रममा बोल्दै उहाँले पेशा–व्यवसायका कारण जिल्ला बाहिर बसोबास गरे पनि निर्वाचन देशको भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर भएकाले समय निकालेर मतदानमा सहभागी हुन आग्रह गर्नुभयो। वर्तमान परिस्थितिमा नेपाली कांग्रेसले देशको नेतृत्व गर्न सक्ने विश्वास व्यक्त गर्दै उहाँले पार्टीलाई मत दिन अपिल गर्नुभयो। साथै युवापुस्ताका माग तथा अभियानलाई संस्थागत गर्न पनि जिम्मेवार नेतृत्व आवश्यक रहेको उहाँको धारणा थियो।

 

काठमाडौँका कार्यक्रम सम्पन्न गरेलगत्तै धमला पोखरातर्फ प्रस्थान गर्नुभएको थियो। पोखरामा धादिङ–पोखरा सम्पर्क समितिले आयोजना गरेको परिचयात्मक कार्यक्रममा उहाँले सम्बोधन गर्नुभएको थियो। कार्यक्रममा क्षेत्र नं. २ का समानुपातिक उम्मेदवार सेतेमान तामाङ तथा कांग्रेसका युवा नेताहरू राजन बुर्लाकोटी, दीपक कोइराला लगायतको उपस्थिति रहेको थियो।

पोखरामा सम्बोधन गर्दै उहाँले जहाँ रहे पनि आफ्नै गाउँ–ठाउँको विकास र सकारात्मक परिवर्तनका लागि मतदानमा सहभागी हुनु सबै नागरिकको कर्तव्य भएको बताउनुभयो। पाँच वर्षे प्रतिज्ञापत्र स्पष्ट र व्यवहारिक रहेको उल्लेख गर्दै कुनै जिज्ञासा भए खुला रूपमा प्रश्न गर्न आग्रह गर्नुभयो।धादिङको सन्दर्भमा उहाँले रुवीभ्यालीको हिमाली भेगदेखि त्रिशूली किनारसम्मको भौगोलिक विविधतालाई आधार मानेर नीति निर्माण गर्नु आवश्यक रहेको धारणा राख्नुभयो। “भूगोलअनुसारको योजना नै दिगो विकासको आधार हो,” उहाँले भन्नुभयो।

निर्वाचन प्रचार–प्रसार समिति क्षेत्र नं. २ का अनुसार उहाँको चुनावी घरदैलो अभियान फागुन १० देखि १२ गतेसम्म रुवीभ्याली र खनियाबास केन्द्रित रहनेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


    • लोकप्रिय समाचार

अनि यो पनि

  • थप पढ्नुहोस् :