सम्बन्धविच्छेदको मुद्दा टुंगिएसँगै एलिनाले लेखिन्– प्रिय विष्णु हाम्रो सम्बन्ध अल्पायु मै पूर्णविराम लाग्यो

बुधबार, माघ ३०, २०८१

theme

काठमाडौँ । गायिका एलिना चौहानले श्रीमान् विष्णु सापकोटासँगको वैवाहिक सम्बन्ध अल्पायु मै पूर्णविराम लागेको बताएकी छन् । काठमाडौँ जिल्ला अदालतले सम्बन्धविच्छेदको मुद्दामा फैसला गरेसँगै चौहानले सामाजिक सञ्जाल फेसबुकमा भनेकी छन्, ‘फेरा, चुरा, सिन्दूर, लगनगाँठो, विवाह दर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ। भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ । जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पूर्णविराम लागेको छ।’

प्रिय विष्णु भन्दै आफ्नो फेसबुक स्ट्याटस सुरु गरेकी उनले वैवाहिक जीवनका अविस्मरणीय पलहरू उल्लेख गरेकी छन्  । ‘प्रिय विष्णु, अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन् ।  तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दूरका डोबहरू अझै उस्तै छन् । तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्। हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ। 

 

वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ,’ उनले भनिन् ।

तर सम्बन्धविच्छेद रहरले नभई बाध्यतामा भएको उनको भनाइ छ । ‘जुन बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ,’  उनले लेखेकी छन् । 

आजदेखि स्वतन्त्र भएर कानुनी रूपमै आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको चौहानको भनाइ छ । पत्नीका रूपमा अधिकारले आफूले पाउने सम्पत्ति पनि विष्णुको प्रगति र उन्नतिका लागि छोडेको चौहानको भनाइ छ । उनले विष्णुलाई बाँकी जीवनको शुभकामना पनि दिएकी छन् । 

मंगलबार काठमाडौँ जिल्ला अदालका न्यायाधीश मोना सिंहको इजलासले अंश र मानाचामल नलिने गरी सम्बन्धविच्छेदको मुद्दा टुंगो लगाएको अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए ।

अदालतमा विष्णु सापकोटाका बुबा वारेसको रूपमा उपस्थित भएका थिए । माघ दोस्रो साता चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् । उनले काठमाडौँ जिल्ला अदालतमा वारेस विष्णुप्रसाद खरेलमार्फत मुद्दा दायर गरेकी थिइन् । 

एलिनाले गत वैशाखमा बागलुङ निवासी सापकोटासँग विवाह गरेकी थिइन् । 

एलिनाले जिल्ला अदालतमा पेस गरेको निवेदनमा आफू कलाकारिता क्षेत्रमा काम गर्ने भएकाले कार्यक्रममा सहभागी हुँदा कहिलेकाहीँ राति अबेरसम्म बस्नुपर्ने हुँदा पतिले विभिन्न शंका–उपशंका गरेको खुलाएकी थिइन् । यस्तै विवाहपछि आफू अस्ट्रेलियामै पतिसँग गएर बसेको तर यस क्रममा सुरुका केही दिन राम्रै भए पनि पछि सम्बन्धमा खटपट आएपछि आफू नेपाल आएर बस्न थालेको उनले जनाएकी थिइन् । 

पतिसँग भावनात्मक सम्बन्ध राम्रो हुन नसकेकाले कागजी सम्बन्धमा मात्र पति–पत्नी भएर बस्न उचित नरहेकाले सम्बन्धविच्छेदका लागि निवेदन दिएको उनको भनाइ थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :