धादिङ, फागुन १ गते । गर्मीयामको सुरुवात हुन लागेसँगै डढेलोको जोखिम बढ्दै जाने गरेको छ । सधै डढेलोबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व तयारी सुरु गरिएको छ । डढेलोको जोखिमा रहेको धादिङ जिल्लामा प्रतिकार्य कार्ययोजना पारित गर्दै सबै पालिकाले हरित स्वयंसेवक परिचालन गर्ने तयारी समेत भएको छ ।
डढेलोबाट बनजंगल जोगाउन जिल्ला विपद व्यवस्थापन समिति धादिङको बैठकले हिउँदमा हुनसक्ने डढेलोको जोखिम कम गर्न र डढेलो नियन्त्रण सम्बन्धि प्रतिकार्य योजना पारित गरिएको हो । ७ सय १७ सामुदायिक बन समेत गरि ५२ प्रतिशत बन क्षेत्र रहेको धादिङमा गतवर्ष २ सय २० हेक्टर बनमा डढेलो लागेको थियो ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष सुमन घिमिरेको अध्यक्षतामा भएको बैठकले वन डढेलो तथा आगलागी नियन्त्रण पूर्व तयारी तथा प्रतिकार्य योजना २०८१÷८२ स्वीकृत गर्द स्थानीय अवस्था र आवश्यकता बमोजिम सबै नगरपालिका र गाँउपालिकाहरुले वन डढेलो तथा आगलागी नियन्त्रण कार्यान्वयन कार्ययोजना तयार गरी एक हप्ता भित्र स्वीकृत गरी जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराउने तथा वन डढेलो तथा आगलागी नियन्त्रण कार्यान्वयन कार्ययोजनाका आधारमा बजेट व्यवस्थापन गरी उपकरण खरिद गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
वन डढेलो तथा आगलागी नियन्त्रण पूर्व तयारी तथा प्रतिकार्य योजना २०८१÷८२, धादिङ बमोजिम प्रतिकार्यका उपकरण खरिद गर्न जिल्ला विपद व्यवस्थापन कोषबाट पाँच लाख र प्रदेश विपद व्यवस्थापन कोषबाट दुई लाख रकम विनियोजन गर्ने निर्णय गर्दै आगलागी तथा वन डढेलोबाट हुन सक्ने संभावित घटनालाई न्युनिकरण एवम् नियन्त्रण गर्न प्रत्येक नगरपालिका र गाउँपालिकाले कम्तिमा १० जना हरित स्वयंसेवक तयार गरी परिचालन गर्ने जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपानेले जानकारी दिनुभयो ।
डढेलो नियन्त्रण विपद व्यवस्थापन प्रतिकार्य योजना अनुसार विद्यालय तथा समुदाय तहसम्मा सचेतथा अभियान संचालन गर्ने, डढेलो नियन्त्रण सप्ताह संचालन गर्ने, डढेलो लगाउनेको सुचना दिनेलाई पुरस्कार दिने, प्रतिरोधात्मक अआगो लगाउने लगायतका योजना समेत बनेको छ ।