काठमाडौँ — युरोपका विभिन्न देशमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का विशाल कारखाना निर्माण हुने भएका छन् । एआई प्रविधिमा अमेरिका र चीनलाई पछ्याउने गरी युरोपले यस्ता गिगाफ्याक्ट्री बनाउन २० अर्ब डलर जुटाउन लागेको रोयटर्सले जनाएको छ । आगामी वर्षदेखि कारखाना स्थापनाको काम सुरु गरिँदै छ । तर यस्ता गिगाफ्याक्ट्रीको प्रयोजनबारे विज्ञले प्रश्न उठाएका छन् ।
युरोपेली आयोगको वेबसाइटमा राखिएको सूचनाअनुसार यस परियोजनाका लागि ‘द युरोपियन हाई पर्फमेन्स कम्प्युटिङ जोइन्ट अन्डरटेकिङ’ (युरो एचपीसी जेयू) साझेदारीमार्फत पहिला ७ र त्यसपछि ६ वटा गरी १३ स्थानमा एआई गिगाफ्याक्ट्री स्थापना गर्न लागिएको छ ।
फिनल्यान्ड, जर्मनी, ग्रिस, इटाली, लक्जेम्बर्ग, स्पेन, स्विडेन, अस्ट्रिया, बुल्गेरिया, फ्रान्स, पोल्यान्ड र स्लोभेनियाका विभिन्न ठाउँमा एआई कारखाना स्थापना गरिने युरो एचपीसी जेयूले जनाएको छ ।
एआई कारखाना स्थापनाका लागि छानिएका साइटमध्ये पाँच स्थान (फिनल्यान्ड, जर्मनी, इटाली, लक्जेम्बर्ग र स्विडेन) मा नयाँ एआई–अप्टिमाइज्ड सुपरकम्प्युटर राख्ने युरो एचपीसीको तयारी छ । स्पेनको एआई कारखानामा युरो एचपीसीले एक वर्षअघि सार्वजनिक गरेको ‘मारोनोस्ट्रम–५’ सुपरकम्प्युटर स्तरोन्नति गरी सञ्चालन गरिनेछ । हाल यो सुपरकम्प्युटर बार्सिलोना सुपरकम्प्युटिङ सेन्टरमा राखिएको छ ।
ग्रिसमा पनि हाल सञ्चालनमा रहेको ‘डेइडालस’ सुपरकम्प्युटरकै स्तरोन्नति हुने गरी एआई कारखाना स्थापना र सञ्चालन गरिनेछ । फिनल्यान्ड र स्पेनका एआई कारखानामा एउटा प्रयोगात्मक प्लाटफर्मसमेत रहने र त्यसले नवीनतम एआई मोडलको विकास तथा परीक्षण गर्नुका साथै युरोपभर सहकार्यको प्रवर्द्धनका लागि अत्याधुनिक पूर्वाधार विस्तारमा काम गर्ने युरोपेली आयोगले जनाएको छ ।