सरकारी अस्पतालमा सामान्य तय निजी अस्पतालमा भन्दा निकै सस्तो र सरल स्वास्थ्य सुविधा हुने विश्वासमा बिरामीहरू उपचारका लागि जाने गर्दछन् । तर जिल्लाको एकमात्र सुविधा सम्पन्न धादिङ अस्पतालमा भने बिरामीहरू निजी अस्पतालमा जस्तै ठगिने गरेका छन् ।
जिल्ला अस्पतालमा हाडजोर्नीलगायत अन्य औषधी उपचारका लागि धादिङ अस्पताल आई पुगेका बिरामीहरू ठगिने गरेका छन् । बिरामीहरूको हाड जोर्नी सम्वन्धि समस्याको शल्यक्रिया गर्दा अस्पतालले निकै महँगो शुल्क लिने मात्रै होइन उपचारका क्रममा चिकित्सकहरू आफैले सामान समेत बिक्री गर्ने गरेको पाइएको छ । यस सम्बन्धमा धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक गगन अधिकारी अस्पतालमा धेरै हाड जोर्नी सम्बन्धी शल्यक्रिया नहुने भएकोले कस्तो सामान कति चाहिन्छ भन्ने आँकलन नहुँदा अस्पतालले सामान खरिद नगर्ने बताउनु हुन्छ । ईनप्लान्टका लागि चाहिने आवश्यक प्लेटलगायत अन्य सरसामान किन्ने वा बिरामीलाई लगाउने विषयमा अस्पतालले सरोकार नराख्ने अधिकारी बताउनु हुन्छ ।
हाडजोर्नीको उपचार र शल्यक्रिया लागि आवश्यक पर्ने ईनप्लान्ट सरसामान कस्तो कस्तो र कति चाहिन्छ समेत अस्पतालसग तथ्याङ्क नहुने र अस्पतालले किनेर राखेको खण्डमा प्रयोग नभए अर्को समस्या आउन सक्ने भएकोले अस्पतालले यस्ता सामान नल्याउने अधिकारी बताउनु हुन्छ । तथापि ल्याउने प्रक्रियाका लागि भने काम अगाडि बढी रहेको पनि निमित्त निर्देशक अधिकारीको भनाई छ ।
सामान्यतया अस्पतालमा उपचारका लागि आएका बिरामीहरुका लागी चाहिने सरसामान अस्पतालमा राखिएको औषधी बिक्री केन्द्रबाटै बिक्री गरी अस्पतालले विल जारी गर्नु पर्ने हो । तर जिल्ला अस्पताल धादिङमा भने कर्मचारीहरूले आफैले बिक्री गर्ने गरेको खुलासा भएको छ । यसले नीतिगत भ्रष्टाचारमा धादिङ अस्पतालका कर्मचारीहरू छन् भन्ने आरोप स्थानीयको छ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर २ निवासी प्रज्वल राना मगरको हातको शल्यक्रिया गर्नु प¥यो । निज बिरामीहरुका आफन्तले धादिङ अस्पतालमा उपचार गराए बापत एक्काइस हजार रकम बुझाउनु प¥यो तर बिरामीले अस्पतालमा बुझाएको रकम मध्ये जम्मा आठ हजारको मात्रै आधिकारिक विल पाएका छन् । उनी मात्रै होइन हाडजोर्नी सम्बन्धी उपचारका लागि आएका सबै बिरामीहरू अस्पताल बाटै ठगिने गरेका छन् ।
जिल्ला अस्पतालमा उपचारका लागि आएका र हाडजोर्नी बाहेकका अन्य शल्यक्रिया गर्दा पनि बिरामीहरूलाई निजी अस्पतालहरूमा जस्तै महँगो शुल्क लिने गरेको बिरामीका आफन्तहरूको भनाई छ । पैशा तिरे पनि बिरामीहरूले अस्पतालबाट सेवा लिए बापत तिरेको रकमको विल भने नदिने गरेको तथ्य खुलासा भएको छ ।
अस्पताल आएका बिरामीहरूले तिरेको रकम भन्दा निकै कमको अस्पतालले विल काटेर दिने गरेको छ भने बाँकी रकमको भने धादिङ अस्पताल मात्र लेखिएको कागजमा हातैले लेखेर दिने चलन रहेको छ । अस्पतालमा औषधी उपचार गरे बापत बिरामीले तिर्ने गरेको पुरै रकम अस्पताल विकास समितिको कोषमा जम्मा गर्नु पर्ने हुन्छ । तर धादिङ अस्पतालले भने त्यसो नगर्ने गरेको पाइएको छ ।
अस्पताले विल नदिएको रकम भने अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका पदाधीकारीदेखि कर्मचारीहरूले नै भाग लगाएर लिने गरेको पाइएको छ । यसरी सरकारी अस्पतालबाटै बिरामी ठगिने र नीतिगत भ्रष्टाचारमा अस्पतालमा कार्यरत कर्मचारीहरू लाग्दा समेत सम्बन्धित सरोकारवाला निकाय मौन बस्ने गरेको आरोप स्थानीय पीडितहरूको छ ।
धादिङ अस्पतालमा दैनिक तिनदेखि पाँचवटासम्म हाडजोर्नी सम्बन्धी समस्याको शल्यक्रिया हुने गरेको छ । पछिल्लो समय धादिङ अस्पतालमा हर्नीया, हाईड्रोसिलको समस्या सम्बन्धी शल्यक्रिया गर्ने चिकित्सक हरेक दिन उपलब्ध हुनु पर्नेमा प्रक्रिया विपरीत उपचारका लागि जाँदा चिकित्सिकको अनुपस्थितिमा विरामीहरु अन्यत्र अस्तालमा उपचारका लागि जानु पर्ने बाध्यथता रहेको छ ।