धादिङ . एक साता अघि धादिङको सदरमुकाम धादिङबेसी स्थित नीलकण्ठ नगरपालिका–४ स्थित रायटारमा मृत भेटिएका सुक बहादुर तामाङ ‘सुबा’ को हत्याको आरोपमा २० वर्षीय एक युवक पक्राउ परेका छन् । जिल्लाको सुदुर उत्तरमा रहेको रुबिभ्याली गाउँपालिका–४ घर भएका सुक बहादुर वैशाख १२ गते नीलकण्ठ नगरपालिका–४ रायटार प्लटिङ सडकमा मृत भेटिएका थिए ।
उनलाई कुटपिट गरेर हत्या गरिएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले बताए । ५० वर्षीय सुक बहादुर तामाङको हत्यामा संलग्न आरोपमा प्रहरीले गजुरी गाउँपालिका–५ स्थित न्यौपाने गाउँ घर भएका २० वर्षीय सुमन सुनारलाई पक्राउ गरेको छ । सुनार नीलकण्ठ नगरपालिका स्थित रायटारमा बस्दै आएका थिए ।
वैशाख १४ मा प्रहरीले आरोपीविरुद्ध धादिङ जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुरमा ६ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।