गाजा खाली गर्ने ट्रम्पको घोषणा

शनिबार, माघ २६, २०८१

theme

काठमाडौँ — गाजा क्षेत्र नियन्त्रणमा लिने र प्यालेस्टिनीलाई अन्यत्र सार्ने बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चौतर्फी विरोध भएको छ । बेलायत, फ्रान्स, रुस, चीन, अस्ट्रेलिया, साउदी अरब, इजिप्ट, टर्कीलगायत देश, प्यालेस्टाइन र प्यालेस्टिनी समूह हमासले ट्रम्पको टिप्पणीको निन्दा गरेका छन् । 

अमेरिकाको भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले गाजा नियन्त्रणमा लिने अभिव्यक्ति दिएका थिए ।

‘अमेरिकाले गाजापट्टी नियन्त्रणमा लिन्छ र त्यहाँ रहेका सबै खतरनाक विस्फोटक बम र अन्य हतियार नष्ट गर्नेछ,’ उनले भनेका थिए । प्यालेस्टिनी समूह हमासले ट्रम्पको प्रस्ताव अस्वीकार्य रहेको बताएको छ । ‘अमेरिकाको जातीय दृष्टिकोण हाम्रा मानिसलाई विस्थापित गर्ने र हाम्रो मुद्दा समाप्त पार्ने इजरायली अति दक्षिणपन्थी स्थितिसँग मेल खान्छ,’ हमास प्रवक्ता अब्देल लतिफ अल–कानोउद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हमासले यस्ता टिप्पणीले यस क्षेत्रको स्थिरतालाई मद्दत नमिल्ने बताएको छ । ‘यस्ता टिप्पणी हाम्रा जनता र हाम्रो उद्देश्यका लागि शत्रुतापूर्ण छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी अमेरिकी प्रशासन र राष्ट्रपति ट्रम्पलाई अन्तर्राष्ट्रिय कानुन र प्यालेस्टिनी जनताको आफ्नो भूमिमा आधारभूत अधिकारको विरोध गर्ने यस्ता गैरजिम्मेवारपूर्ण टिप्पणीबाट पछि हट्न आह्वान गर्छौं ।’ प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले पनि विज्ञप्ति जारी गर्दै ट्रम्पको प्रस्ताव अस्वीकार गरेका छन् । गाजाका प्यालेस्टिनीले पनि ट्रम्पको पुनर्वास योजनाको विरोध गरेका छन् ।

 इकान्तिपुरबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :